रोल्वालिङ उपत्यकाको उकालो चढ्दै सुनेका कुरा
पैतालाले नापिएको दूरी, आँखाले देखिएको भित्री संसार ।
प्रिय साथीहरू,
आज म तपाईंहरूलाई सुनाउँदैछु Rolwaling Valley को एउटा सुस्त, तर गहिरो यात्राको कथा।
यो केवल पदयात्रा थिएन, यो एउटा सम्बन्ध थियो—प्रकृतिसँग, मानिससँग, अनि आफैंसँग।Gaurishankar हिमालको काखमा खेलिरहेछ Rolwaling Valley। सुनिएको, भिडियोमा देखिएको भन्दा निकै फरक। अझ जीवन्त, अझ वास्तविक।
जडीबुटीबाट हतारिँदै छुटेको बसको यात्रा छेछेट सम्म थियो। पाँचखाल, मुडे, चारिकोट हुँदै यात्रा अघि बढ्दै गयो। काठमाडौंको कोलाहललाई पछाडि छोड्दै, Dolakha को हरियालीले स्वागत गर्यो। असारको मौसम — खेतका गरामा किसानहरू हिलोमा लडिबुडी धान रोप्दै थिए। तामाकोशी नदी सँगै बगिरहेको थियो, झरनाहरू पहाडबाट झरिरहेका थिए। मौसम फेरिँदै जान्थ्यो, दृश्यहरू पनि।
कहिले “ तातो तातो माछा खाने " , कहिले झ्यालबाट जिस्काउने चिसो सिरेटो— कहिले ड्राइभर दाइको गीतले : निदाउँदै, कहिले झस्किँदै यात्रा अगाडि बढ्यो । लगभग तीन बजेतिर यात्रा पैदल सुरु भयो। गन्तव्य: सिमीगाउँ।
सिमीगाउँको उकालोमा
मेलाको थकान अझै पाइला–पाइलामा झुन्डिएको, चाल लरबर, हातमा वाकी–टकीजस्तो ठूलो मोबाइल, त्यसैबाट कुनै पुरानो लोकगीत घन्किरहेको। उकालो हिँड्दै–हिँड्दै थकाइभन्दा धेरै जीवनको भारी बिसाउँदै भन्नुभयो —
“तीन छोरी छन् मेरी, कुन चाहिँले के गर्ला? भविष्य अँध्यारो लाग्छ। गाउँमा त केही छैन।”
सिमीगाउँ—करिब २०० घरको बस्ती। एउटा मात्र प्राइमरी स्कुल छ, तीन जना शिक्षक छन्, र अहिले जम्मा २५ जना विद्यार्थी पढ्दै छन्। पाँच कक्षा सकिएपछि पढ्न टाढाको स्कुल जानुपर्छ, जुन गाउँबाट दैनिक हिँडेर ओहोरदोहोर गर्नु सम्भव छैन। केहीका लागि त अफन्तको सहारा छ, तर जसका न अफन्त छन्, न डेरा गर्न सक्ने हैसियत—उनीहरूका लागि पढाइ सपना मात्रै हो।"पढ्न सकिन्न," दाइको स्वरमा विवशता मिसियो।
गाउँमा अझै मोटर पुगेको छैन। ५० सालतिर Swiss project ले बनाएको खुड्किला बाटो नै आज पनि उकालो चढ्ने आधार छ। माटो उब्जाउ छ—आलु राम्रै फल्छ। तर ओसारपसार महँगो छ, बजार टाढा पर्छ। त्यसैले धेरैजसो बोरामै थन्किन्छन्, जसरी मनभित्र कतै थन्किएका सपनाहरू। यी उकालीहरू, यी पीडाहरू, अनि ती अनकन्टार सपना—सबैलाई बोक्दै, दाइ फेरि हल्का मुस्कान दिँदै चढिरहनुहुन्छ त्यही पुरानो खुड्किला, जस्तै हरेक वर्ष चढिनैपर्ने जीवनको उकालो।
बेदिङको शान्ति र संघर्ष
सिमीगाउँभन्दा माथि पुग्दा मोबाइलको नेटवर्क हरायो, तर आफ्नै मनसँगको संवाद सुरु भयो। ट्रेकिङको यही त त मजा हो—ठाडा उकालोहरू, खुड्किला, साना–ठूला झरनाहरू, बाटोछेउमा फुलेका बनफूलहरू, रङ्गीचङ्गी च्याउका प्रजातिहरू,असारको बेमौसमी झरी, जङ्गलको बाटो, फाटाफुट गाउँले र भिर चढ्दै गरेका भरीया। बाटोमा भेटिने मुस्कानसहितका अनजान अनुहारहरूले पनि साथ दिएको महसुस हुन्थ्यो। पाइला विस्तारै अघि बढ्दै गयो
Dongang पुग्दा मन खल्लो भयो। गाउँलेले सुनाए—पोहोर सालको भेलले त्यहाँका होटलै बगाइदिएको रहेछ। प्रकृतिको यस्तै त हो—अद्भुत तर अनिश्चित। Tso Rolpa नजिकको मौसम स्टेशनमा काम गर्न आएका सरसँग कुराकानी गर्दा थाहा भयो—प्रत्येक वर्ष Tso Rolpa अझै फैलँदो छ, सँगै अरू धेरै साना हिमनदीहरू पनि पग्लिँदै छन्। जलवायु परिवर्तन यहाँ केवल शब्द होइन, प्रत्यक्ष अनुभव हो।
थाङ्दिङ पुगेर राई दिदीको मिठो खाना खाइसकेपछि यात्रा फेरि सुरु गर्यौं। तर्सै तर्सै हिँड्दै पुग्यौं—गौरिशंकरको काखमा बसेको सुन्दर बेडिङ गाउँमा। रोल्वालिङ खोलाको छेउमै शान्त र आत्मीय बस्ती—करीब ७० घर, २५० जनाको बसोबास। तर अहिले गाउँ प्रायः सुनसान जस्तै छ—धेरैजसो मानिसहरू काठमाडौं वा विदेशतिर छन्। अधिकांश घरका सदस्यहरू एभरेस्ट आरोहीसमेत रहेका छन्।
गाउँको स्कुलको गुम्बामा बालबालिकाहरू बाजा बजाउँदै रमाइरहेका थिए। गाउँमा दुईवटा गुम्बा थिए—एउटा टाढा पहाडको टुप्पोमा, अर्को खोलाको नजिकै। धारा जोड्ने काम भईरहेको थियो र बेलुका, रक्सी र सितान खाँदै गाउँका कामदारहरू संगै दुःख सुखका कुरा बाँडिरहेका थिए। बेडिङ पुगेपछि लाग्यो—जति अग्लो गन्तव्य, उति गहिरा अनुभव।
यात्राको अन्तिम पानामा …
Rolwaling खोला बिहानैदेखि सँगै बगिरहेको थियो। हामी त्यसैको लयमा हिँडिरहेका थियौं, बिहानको चिसो हावासँगै।अन्तिम गाउँ Naa हुँदै दिउँसो Tso Rolpa पुग्यौं।यो यात्रा करिब छ दिनको थियो, तर दूरीको मात्र होइन, अनुभवको गहिराइमा पुग्ने यात्रा बन्यो। भित्रभित्रै घटेको यात्रा थियो, एउटा आफैसँगको भेटजस्तो।
Rolwaling उपत्यका केवल हिमाल, झरना, खोँच र कुहिरोले ढाकिएको भूगोल होइन रहेछ, यो त मौनतामा लुकेको एउटा पवित्र स्थल रहेछ—बेयुल, जुन गुरु पद्मसम्भवले संकटका घडीमा
साधकहरूलाई आश्रय दिन भनेर बनाएको थलो हो भन्ने विश्वास गरिन्छ।
त्यहाँ पुग्दा लाग्यो —यो ठाउँले समय रोकेको छ।
Tso Rolpa ले हामीलाई चुपचाप हेरेको थियो—कहिले कुहिरोले छोपिने, कहिले खुल्ने। शान्त, नबोली, तर सबै बुझेजस्तो।त्यो दृश्य जीवनकै जस्तै लाग्यो—कहिले स्पष्ट, कहिले धुम्म।
Rolwaling का पातला बस्तीहरू, झरनाहरू, कोदोको रक्सीमा बिसाइएका कथा, अनि उकालोका खुड्किलाहरू—यी सबैले यात्रालाई भिजाएको थियो। यहाँ न मोटर पुगेको छ, न मोबाइल सिग्नल बलियो छ। तर त्यही मौनता भित्र आत्माको सिग्नल खुल्छ, जहाँ दुःखभित्र पनि मुस्कान फुलिरहेको भेटिन्छ।Rolwaling ले हामीलाई सम्झायो—केही स्थानहरू केवल घुम्नका लागि होइन, आफ्नै आत्मासँग गहिरो भेटका लागि पनि हुन्छन्। केही यात्रा आफूभित्रको मौनता सुन्नका लागि हुन्छन्।
शायद Rolwaling त्यही हो—एक सुस्त sanctuary, जहाँ प्रकृतिको मौनता र मानिसको भोगाइ एउटै धडकनमा मिसिन्छ। र हामी फर्कियौं, यात्रा सकेजस्तो लाग्यो तर हाम्रो मनको केही अंश त्यहीँ कतै रोकिएर बसिरह्यो—Rolwaling मा।
हामीलीइ यती टॅाढा वास्तिवकता र विडम्बनाको बाटो डोर्याएकोमा धेरै धन्यबाद ।